काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन्।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि उनले उक्त कोषमा रकम प्रदान गर्ने भएका हुन्।
राष्ट्रपति पौडेलले मङ्गलबार भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमको निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका थिए।
साथै, राष्ट्रपतिले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि आफू चढ़ेको जहाज़मा सुर्खेतबाट सँगै काठमाडौं ल्याएका थिए।
भूकम्पपीडितहरूलाई मूल राजनीतिक दल तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले सहयोग गर्नेक्रम जारी छ।