दुई वर्षमा बनिसक्नुपर्ने पुल तीन वर्षमा आधा मात्रै

0

ढोरपाटन : बागलुङको तमानखोला गाउँपालिका–१ बोङ्गादोभानस्थित बोङ्गाखोलामा पुल निर्माण गर्न थालेको तीन वर्ष बितिसक्यो। अहिले खोलाका दुईपट्टी पिलर मात्रै ठडिएका छन्। त्यस बाहेक पुलको कुनै पनि काम हुनसकेको छैन। ठडिएका पिलर पनि खिया लागेर काम नलाग्ने अवस्थामा पुगेका छन्।

वर्षात्‌का वेला बोङ्गाखोलामा पानीको बहाव बढेर आउने हुँदा यातायात सञ्चालन सक्दैन। यो वर्ष पनि असारदेखि ठप्प भएका सवारीसाधन कात्तिक लागेपछि मात्रै चल्न थालेका हुन्। स्थानीय बासिन्दाले वारपार गर्न झोलुङ्गे पुलको सहायता लिने गरेका छन्। यो खोला पार गरेर मात्रै पालिका केन्द्र पुगिन्छ।

भौगोलिक हिसाबले विकट मानिने तमानखोलामा थुप्रै खोला छन्। यहाँ पुल नबन्दा वडा नं १ र २ का केही गाउँबाहेक अन्य वडाका नागरिक बर्खामा पालिकासम्म सिधा आवतजावत गर्न पाउँदैनन्। पुल निर्माणको जिम्मा पाएको कान्तिपथ कन्ट्रक्सनको लापरबाहीले अहिलेसम्म पुल बन्न नसकेको हो। निर्माण कम्पनी समय–समयमा सम्पर्कविहीन हुँदा करोडौँको योजना अलपत्र हुने गरेको स्थानीयको भनाइ छ।

विसं २०७७ पुस १६ गते सडक डिभिजन कार्यालय बागलुङसँग सम्झौता गरी काम सुरु गरेको निर्माण कम्पनीले अटेर गरिरहेको छ। विसं २०७९ चैत ३० गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म करिब ५२ प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

दुई वर्ष तीन महिनामा सक्नुपर्ने पुल समयावधिसम्म नसकेपछि गतवर्ष चैत ३० गते एक वर्षका लागि म्याद थप गरेको सडक डिभिजन कार्यालय बागलुङका इञ्जिनीयर अमर अधिकारीले बताए। निर्माण कम्पनीको म्याद अब पाँच महिना मात्रै बाँकी छ। पुल बनाउन निर्माण कम्पनीले दुई करोड ७१ लाख २७ हजार ९६४ मा जिम्मा लिएको इञ्जिनीयर अधिकारी बताउँछन्।

पाँच महिनाको अवधिमा धेरै मजदुर लगाएर धमाधम काम गरे मात्रै सकिने सम्भावना रहेको उनको भनाइ छ। इञ्जिनीयर अधिकारीले भने‚ ‘विभिन्न कारण देखाएर अहिलेसम्म काम सकेको छैन, अब तिहार पछाडि आएर काम गर्छु भनेको छ। हालसम्म ५२ प्रतिशत काम गरेको छ, बाँकी ४८ प्रतिशत काम ध्यान दिएर गर्‍यो भने चैतसम्म सकिन सक्छ, अन्यथा गाह्रो छ, बेसको काम गरिसकेको छ, अझै केही समय म्याद रहेको हुँदा हामीले पनि ताकेता गरिरहेका छौँ।’

पुल निर्माण सुरु भएको यतिका वर्षसम्म काम सम्पन्न नहुँदा बर्खाको समयमा बढी सास्ती खेप्नु परेको स्थानीय प्रेमबहादुर पुनले बताए। यो खोला पार गरेर मात्रै पालिकाको केन्द्र र ठूला–ठूला शहरमा पुगिने भन्दै ठेकेदारको लापरबाहीले हजारौँले दुःख पाएको पुनको भनाइ छ। बर्खा लाग्न थालेपछि १०-१५ दिन काम गरे जस्तो गर्ने र त्यसपछि ठेकेदार भाग्ने गरेको उनले बताए। सामान ढुवानी र यात्रा गर्न बढी समस्या हुने पुन बताउँछन्।

‘हिउँदमा यात्रा गर्न र सामान ओसारपसार सजिलै गर्न सकिन्छ, असारदेखि कात्तिकसम्म गाडी नै चल्दैनन्, यहाँ पुल बन्थ्यो भने त किन समस्या हुन्थ्यो र जति वेला पनि ओहरदोहर गर्न सकिन्थ्यो’‚ पुनले भने‚ ‘यस्तै तालले त यहाँ पुल बन्ने सम्भावना देखिन्न, काम सुरु भएको वर्षौँ भयो। वर्षमा एकपटक काम गर्न आउँछ, दुईचार दिन गरेर भाग्छ।’

तमानखोला गापा अध्यक्ष जोकलाल बुढा मगरले निर्माण कम्पनीलाई समयमै काम सक्न आग्रह गरे पनि बेवास्ता गरेको बताए। काम गर्न बाधा अवरोध नभएको भन्दै निर्माण कम्पनीले अटेरी गरिरहेको अध्यक्ष बुढा मगरको कथन छ।

सम्झौताको म्याद सकिएर थपेको पनि एक वर्ष बित्न लाग्दा पनि काममा नफर्किएको उनको भनाइ छ। अध्यक्ष बुढा मगरले भने‚ ‘हामीले निर्माण कम्पनीका मुख्य व्यक्तिलाई धेरै पटक पुलको काम सकिदिनु पर्‍यो भन्यौँ तर सुनुवाइ भएन।

काम गर्न समस्या थिएन। तीन वर्षसम्म पनि पुल बन्ने नबन्ने ठेगान छैन, जनताले सास्ती पाइराखेका छन्, निर्माण कम्पनी बेखर छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here