२१ कात्तिक, काठमाडौं। चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।
चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरु नै विरोध प्रदर्शनमा उत्रिएपछि सो अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो ।
प्रचलित कानून बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चिकित्सक डा. दिक्षान्त आचार्यले चेतावनी दिए । उनले चिकित्सकलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाही गर्ने काम नगरेको भन्दै सरकार र प्रहरी प्रशासनप्रति पनि आक्रोश व्यक्त गरे ।
डा. आचार्यले भने, ‘डाक्कटरमाथि कुटपिट गर्नेहरुमाथि किन अहिलेसम्म कारबाही भइराखेको छैन, किन समातिएन ? त्यही बेला किन समातिएन ? यो कुरा चाँही हामीलाई पनि प्रश्न हो । र यसमा जोजो सम्बन्धिन निकाय हुनुहुन्छ । उहाँहरुलाई पनि यही प्रश्न हो । यसैकारण हामी आन्दोलित छौं । हामीले गल्ती नगरिकन गल्ती गरेको भन्ने जस्ता शब्दहरु, लापरबाही गरेको भन्ने जस्ता शब्दहरु प्रयोग नगर्नुस् भनेको हो ।’
सो अस्पतालमा गत कार्तिक १८ गते शनिवार ज्येष्ठ नागरिक वार्डमा उपचाररत दुई बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले चिकित्सकमाथि कुटपिट गरी बन्धक बनाएको आन्दोलनरत चिकित्सकहरुको भनाइ छ ।
उनले भने, ‘हाम्रो इच्छा त बिरामीले राम्रो उपचार पाउनु पर्यो । विरामीले राम्रो सेवा पाउनुपर्यो । हाम्रो जो डाक्टर सावहरुलाई कुटियो । जोजो पीडक पक्षहरु हुनुहुन्छ । उहाँलाई प्रहरीले नियन्त्रणमा लिनुपर्यो भन्ने माग छ ।’
उनीहरुले चिकित्सकमाथि कुटपिट गर्ने कार्यमा संलग्नहरुलाई सरकारले कारबाही नगरेसम्म आफूहरुको आन्दोलन नरोकिने बताएका छन् ।