२७ भदौ, काठमाडौं । । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले विद्युतीय सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेका चिनियाँ नागरिक दाओजिन वाङलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाएको छ ।
सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । प्रतिवेदन बुझाउनुअघि सीआईबी प्रमुख किरण बज्राचार्यले भेप प्रकरणमा मुछिएका दाओजिनलाई ६० किलो सुन तस्करी प्रकरणमा पनि प्रतिवादी बनाइएको जानकारी दिइन् । उनी हाल फरार छन् ।
सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । ३२ जना हिरासतमा छन् भने १८ जना फरार छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान ई–सिगरेट (भेप) बरामद भएको थियो ।
जाँच गर्दा त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बाको मिलेमतोमा गोदाममा भएको भेप साटफेर गरेर ९ किलो सुन बिक्री गरेको खुलेको थियो ।
सीआईबीको अनुसन्धानमा भेपमा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक लुई र दाओजिङ वाङको कृष्णबहादुर महराका छोरा राहुलसँग सम्पर्क देखिएको थियो । भन्सारबाट भेप छुटाउने प्रयास गरेका राहुललाई प्रहरीले पक्राउ गरिसकेको छ ।