सरकारी कार्यक्रममा प्लास्टिकजन्य पदार्थ प्रयोग नगर्न उच्च अदालत विराटनगरको आदेश

0

१० मंसिर, विराटनगर । उच्च अदालत विराटनगरले सरकारी निकायबाट आयोजना हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोग निरुत्साहित गर्न परमादेश जारी गरेको छ ।

अधिवक्ता प्रमिल अधिकारीले दायर गरेको रिटमा अदालतले कोशी प्रदेश सरकारसमेतका नाममा परमादेश जारी गरेको हो ।

अदालतले अब उप्रान्त सरकारी निकायबाट हुने कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गरी उपलब्ध विकल्पहरूको प्रयोग गर्न र गराउन आदेश दिएको हो ।

प्लास्टिकजन्य पदार्थको प्रयोग न्यूनीकरणसम्बन्धी आवश्यक ऐन, नियम, नीति तथा कार्यक्रम निर्माण, प्रयोग वा कार्यान्वयन पर्याप्त नभएको भए सोतर्फ समेत उच्च प्राथमिकता दिई निर्माण गरेर लागु गर्न र गराउन परमादेशमा भनिएको छ । अदालतले निवेदकले उठाएका विषयहरू मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषयसँग सम्बन्धित रहेको औँल्याएको छ ।

नेपालको संविधान, वातावरण संरक्षणसम्बन्धी संघीय तथा प्रदेश कानुन, नीति, कार्यक्रम र अन्तर्राष्ट्रिय महासन्धि, अनुबन्ध तथा घोषणाहरूले समेत मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने प्लास्टिक लगायतका चिजवस्तुको प्रयोग र पुनः प्रयोगलाई न्यूनीकरण गर्दै अन्ततः प्रयोग नगर्ने व्यवस्था गरेको अदालतले स्मरण गराएको छ ।

सभा, सम्मेलन, सेमिनार र गोष्ठीजस्ता कार्यक्रमहरूमा प्लास्टिकजन्य पदार्थको प्रयोग न्यून गर्दै लैजाने तथा उपयुक्त विकल्पको पहिचान गरी प्लास्टिक प्रयोगलाई समाप्त गर्ने प्रतिबद्धता पटक–पटक भइसकेको आदेशमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here