बाँसखर्क / सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीका पहिरो पीडित १०४ जना बालबालिकाको लागि जाडोमा न्यानो ज्याकेट वितरण गरेको छ ।
लिदी पहिरोबाट विस्थापितहरु अस्थायी रुपमा बासोबास गर्दै आएको बाँसखर्कमा यो हप्ता बाक्लो हिउँ परेसँगै अत्यधिक चिसो बढेपछि नेपाल ख्रीष्टिय राहत सेवा, ललितपुरले बुधबार बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
चिसो मौसमका कारण बालबालिकालाई प्रतिकूल असरबाट जोगाउन ज्याकेट वितरण गरेको सहयोगी संस्था एनसीआरएसका कार्यकारी निर्देशक रोमी केसीले बताउनु भयो ।
लिदीमा श्रावण ३० गते शुक्रबार बिहान गएको पहिरोले बिस्थापितहरु अझै पनि अस्थायी रुपमा बासखर्कमा बसोबास गर्न बाध्य छन् । तुषारोले चिसो बढेसँगै चिसो भुँई र टेन्टमा रात बिताउँदा वृद्धवृद्धा र बालबालिकाको स्वास्थ्यमा सानातिना समस्या आइरहेका छ्न ।
सरकारले लिदी पहिरो विस्थापितलाई समयमा नै ध्यान नदिँदा पीडितहरुमा निराशा पलाएको छ भने यता पहिरो प्रभावित बालबालिका शिक्षा, स्वास्थ्य र स्वच्छ खानेपानी पाउने अधिकारबाट समेत बन्चित हुन परेको छ ।