धरान / नेपाल राष्ट्रिय मण्डली संगतिले धरान स्थित इम्मानुएल चिल्ड्रेन हाेम्समा आश्रीत १८ जना बालबालिकाका माझ चित्रकला प्रतियोगिता गराएकाे छ।
नेपाल राष्ट्रिय मण्डली संगतिका उपाध्यक्ष रेभ.वीर बहादुर कार्कीकाे प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा १८ जना प्रतिस्पर्धीमध्ये प्रथम अनिता लिम्बू, द्वितीय अय्युब लिम्बू, तृतीय ह्याप्पीसन राई र सान्त्वना आमाेस तामाङ भएका छन् ।
विजेताहरुलाई कार्यक्रमका विशेष अतिथि एनसिएफ नेपालका महिला बिभाग अध्यक्ष सुबला राईले नगद पुरस्कार प्रदान गर्नुभयाे। साथै हाेम्समा आश्रीत बालबालिकाहरूलाई एनसिएफ नेपालले रु.३० हजार बराबरको खाद्यान्न र स्वास्थ सामग्री प्रदान गरेकाे छ।

उक्त हाेम्सकाे नवनिर्मित भवन नेपाल राष्ट्रिय मण्डली संगतिकाे आर्थिक सहयाेगमा निर्माण सम्पन्न भएको केन्द्रीय काेषाध्यक्ष रेभ.हिमाल जाेसेफ राईले बताउनुभयाे। यस्ता खाले कार्यक्रमले बालबालिकाहरू माझ सकरात्मक प्रभाव पर्नुका साथै सृजनशिलताकाे बिकास हुने हाेम्सका संचालक रेभ.डा.जीवनदिप सुब्बाले बताउनुभयाे। त्यसैगरी आफ्नै स्राेत र साधनद्वारा संचालित साे हाेम्स काेभिड-१९ काे महामारीको कारण आर्थिक कठिनाई भाेगीरहेकाे समयमा एनसिएफ नेपालले बालबालिकाहरुकाे निम्ति खाद्यान्न र स्वास्थ सामग्री प्रदान गरी सहयाेग गरेकाे हुनाले हाेम्सका निर्देशक दिप्ति सुब्बाले एनसीएफ नेपाललाई आभार ब्यक्त गर्नुभयाे।
कार्यक्रममा बालबालिकाहरुलाई स्वास्थ्य र अनुशासनबारे महिला बिभागका केन्द्रीय अध्यक्ष सुबला राईले सिकाउनु भएको थियाे। ज्ञात रहाेस साे हाेम्सका संचालक रेभ.डा.जीवनदिप सुब्बा भवन निर्माण गर्ने क्रममा ३३ हजार भाेल्टकाे बिद्धुतिय प्रसारण लाईनमा परी सख्त घाइते हुनुभएको थियाे। चित्रकला प्रतियोगितामा हाेम्सका १८ जना बालबालिकाकाे सहभागिता रहेकाे थियाे।