काठमाडौं, ८ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित तथा विशेष संरक्षण आवश्यक पर्ने बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना अघि बढाइएको बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री बादीले प्रभावित बालबालिकाको खोजी, उद्धार, संरक्षण, अभिभावकको खोजी तथा पारिवारिक पुनर्मिलनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिइन्।
उनका अनुसार बाढी प्रभावित १५ स्थानीय तहमा बाल संरक्षणसम्बन्धी समन्वय संयन्त्र गठन गरी सूचना सङ्कलन, उद्धार तथा संरक्षणको काम भइरहेको छ। बालबालिकाका लागि ४० स्थानमा बालमैत्री केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ।
ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा उद्धार गरी ल्याइएका बालबालिकाका लागि आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक खोजी तथा पुनर्मिलनलगायत सेवा उपलब्ध गराउने गरी अस्थायी संरक्षण सेवा सञ्चालन गरिएको मन्त्री बादीले बताइन्।
बाढीका कारण अभिभावक बेपत्ता भएका वा गुमाएका बालबालिकालाई १८ वर्ष नपुग्दासम्म संरक्षण, स्याहार, पोषण तथा स्वास्थ्य उपचार उपलब्ध गराउने र कम्तीमा १२ वर्षसम्मको शिक्षाको व्यवस्था गर्ने गरी दीर्घकालीन स्याहार योजना अघि बढाइएको उनले जानकारी दिइन्।
मन्त्री बादीले राष्ट्रिय बाल अधिकार परिषद्मार्फत प्रभावित क्षेत्रमा बालबालिकाको अवस्थाबारे स्थलगत लेखाजोखा तीव्र पारिएको बताइन्। साथै, विपद्का नाममा बालबालिकाको अनधिकृत ओसारपसार तथा स्थानान्तरण गर्न नपाइने स्पष्ट पारिन्।
उनका अनुसार राष्ट्रिय बाल अधिकार परिषद्को सहमति र स्थानीय तहका बाल कल्याण अधिकारीको सिफारिसबिना बालबालिकाको ओसारपसार तथा स्थानान्तरण गैरकानुनी हुनेछ।
यस्तै, विपद्बाट प्रभावित ज्येष्ठ नागरिकको उद्धार, सुरक्षित आश्रय, स्वास्थ्य उपचार तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्री बादीले बताइन्। नुवाकोटको देवीघाटबाट विस्थापित ज्येष्ठ नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्वास्थ्य परीक्षण तथा आवश्यक सहयोग उपलब्ध गराइएको छ।
गर्भवती तथा सुत्केरी महिलाको उद्धारका लागि समेत हवाई सेवा प्रयोग गरिएको उनले जानकारी दिइन्। उनका अनुसार हालसम्म जटिल प्रसूति अवस्थामा रहेका ११ जना महिला तथा नवजात शिशुको हवाई उद्धार गरी उपचारका लागि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल ल्याइएको छ।
बाढी प्रभावित महिला तथा किशोरीका लागि नुवाकोट र धादिङमा १० वटा महिला तथा किशोरीमैत्री सुरक्षितस्थल स्थापना गरिएको पनि मन्त्री बादीले जानकारी दिइन्।















