काठमाडौं, ८ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय ३६ ग्राम सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
कतारको दोहाबाट काठमाडौं आएका ४२ वर्षीय मोहम्मद चेरा थोडीलाई विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो। उनको साथबाट ५ सय ३६ ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ।
यस्तै, कतारबाट काठमाडौं आएका अर्का एक नेपाली नागरिक पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा, पचरौता नगरपालिका–१ पिपरपाटीका ३३ वर्षीय अनिश अन्सारी रहेका छन्। उनको साथबाट ६९.६ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
सुनसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।
















