काठमाडौंमा नक्कली रक्सी कारखाना, ९ जना पक्राउ

0

काठमाडौं : काठमाडौंमा नक्कली मदिरा बेचबिखन गर्ने नौ जना पक्राउ परेका छन् । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको हो ।

काठमाडौंको कागेश्वरी नगरपालिकास्थित थलीमा एक घर भाडामा लिई उनीहरूले नक्कली मदिरा उत्पादन गरी बजार  मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको सो कार्यालयका डिएसपी अनिल घिमिरेले बताए।

पक्राउ पर्नेहरूमा रामेछापका २८ वर्षीय मनोज खत्री र वर्ष ३६ का विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षका मोहन खड्का, सिन्धुलीका वर्ष २८ का गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षका लेखविक्रम थापा रहेका छन्।

त्यसैगरी रामेछापका वर्ष २० का मनिष खत्री, २३ वर्षका महेश खत्री र सिन्धुपाल्चोकका १८ वर्षका रोशन कार्कीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ। डिएसपी घिमिरेले नक्कली मदिरा बिक्रीवितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरूलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताए ।

उनीहरूले गुणस्तरहीन नक्कली मदिरा प्रचलित बजारको दरभाउभन्दा कम मूल्यमा बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरूको साथबाट नक्कली खुकुरी रम २८८ बोत्तललगायतका मदिरा पनि बरामद गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here