क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल १२ घण्टामै बरामद, दुई पक्राउ

0

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट चोरी भएको मोटरसाइकल ट्राफिक प्रहरीले १२ घण्टामै बरामद गरेको छ। चोरीमा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सोमबार बिहान पौने २ बजे काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीबाट सुनिल रायमाझीले प्रयोग गर्दै आएको बागमती प्रदेश–०२–०३७ प ३५१५ नम्बरको बजाज पल्सर एनएस मोटरसाइकल चोरी भएको थियो।

उक्त मोटरसाइकल सोही दिन दिउँसो २ बजे बूढानीलकण्ठ नगरपालिका–७ भंगालबाट नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले जानकारी दिए।

गुल्मीको इस्मा गाउँपालिका घर भएका रायमाझीले मोटरसाइकलमा जीपीएस ट्र्याकिङ डिभाइस जडान गरेका थिए। जीपीएसको सहायताले मोटरसाइकलको खोजी गर्दा छोटो समयमै चोरीमा संलग्न व्यक्तिसहित मोटरसाइकल नियन्त्रणमा लिन सफल भएको एसएसपी काफ्लेले बताए।

पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–२ का ३२ वर्षीय रुबिन तामाङ र काभ्रेको दुधकोशी गाउँपालिका–११ घर भई हाल बानेश्वर बस्दै आएका १९ वर्षीय अमन लामा छन्।

उनीहरूलाई चोरीसम्बन्धी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइने एसएसपी काफ्लेले बताए।

यसैबीच, उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार चोरी भएर फेला परेका ५० वटा दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। रामशाहपथस्थित कार्यालयमा आयोजित कार्यक्रममा एसएसपी सुरेश काफ्लेले २८ वटा मोटरसाइकल र २२ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

चालु आर्थिक वर्षमा चोरी भएका १६६ वटा सवारीसाधन फेला पारिएको ट्राफिक प्रहरीले जनाएको छ। चोरी नियन्त्रणका लागि उपत्यका ट्राफिक प्रहरीले सादा पोसाकमा समेत प्रहरी परिचालन गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here