काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेल अस्वस्थ भएपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ।
सिंहदरबारमा मंगलबार बिहान ८ बजेका लागि बोलाइएको बैठकमा सांसदहरू उपस्थित भए पनि मन्त्री पोखरेल अस्वस्थ भएको जानकारीपछि बैठक स्थगित गरिएको हो।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट भएका तथा भइरहेका कामबारे छलफल गर्न बैठक बोलाइएको थियो।
बैठकमा मन्त्रालयका कामकारबाहीका क्रममा देखिएका समस्या तथा चुनौती र आगामी दिनमा मन्त्रालयले अवलम्बन गर्ने रणनीतिबारे समेत छलफल गर्ने कार्यसूची थियो। त्यसका लागि शिक्षामन्त्री पोखरेलसँगै मन्त्रालयका सचिवलाई पनि समितिमा बोलाइएको थियो।
समिति बैठक सुरु भएपछि मन्त्री पोखरेलले आफू अस्वस्थ रहेको जानकारी गराएका थिए। मन्त्री बैठकमा उपस्थित हुन नसकेपछि समिति सभापति डा. ओजश्वी शेरचनले बैठक स्थगित भएको घोषणा गरिन्।
















