२५ भदौ, काठमाडौं । रास्वपाका सांसद अमरेशकुमार सिंहले बालेन शाह नेतृत्वको सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले देश बाढीपहिरोलगायत विपत्तिको मारमा परिरहेका बेला सरकार संविधानअनुसार नचलेको टिप्पणी गरे ।
‘हामी विषम परिस्थितिमा छौँ । बाढीपहिरोको मारमा छौँ । खर्बौंको अर्थतन्त्र क्षति भएको अवस्थामा छ । अर्कोतर्फ सरकार संविधानअनुसार चलेको छैन,’ उनले भने ।
आफूहरू चुनावमा जाँदा संविधान परिवर्तन गर्ने प्रतिबद्धता नगरेको उल्लेख गर्दै उनले सरकारको कार्यशैलीले संविधानको मर्ममाथि प्रहार भइरहेको बताए ।
‘हामीले चुनावमा जाँदा संविधान बदल्छौँ भनेका पनि थिएनौँ । संविधानको मर्ममाथि प्रहार भइरहेको छ,’ सिंहले भने ।
उनले संसदीय व्यवस्थामा प्रधानमन्त्रीमा कार्यकारी अधिकार रहने भए पनि अहिले सरकार ‘सल्लाहकार व्यवस्थामा’ परिवर्तन भएको आरोप लगाए । सरकारको केन्द्र ज्वागल बनेको र ‘हुकुमी शासन’ जस्तो अवस्था सिर्जना भइरहेको उनको दाबी थियो ।
















