२४ साउन, काठमाडौं । सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ । आयोजक संस्था इन्टरनेसनल एसोसिएसन फर तिब्बेतेन स्टडिज ( आएटीएस) को बोर्डले तोकिएकै समयमा अब भर्चुअल माध्यमबाट सम्मेलन गर्ने घोषणा गरेको हो ।
नेपालको तर्फबाट सहआयोजक काठमाडौं विश्वविद्यालयअन्तर्गतको हिमालय सेन्टर फर एसियन स्टडिज सेन्टर फर बुद्धिस्ट स्टडिजले सम्मेलनबाट हात झिकेपछि मूल आयोजकले यसलाई अनलाइनबाट भर्चुअल सम्मेलन अगस्ट २३- २९ सम्म नै गर्ने घोषणा गरेको हो ।
अगस्ट ७ मा आइएटीएसको सञ्चालक समितिले सम्मेलनलाई कसरी अघि बढाउने भन्ने विषयमा आकस्मिक अनलाइन बैठक आयोजना गरेको थियो। ‘बैठकले सम्मेलनको संयोजकको जिम्मेवारी आफैंले लिने र १७औँ सेमिनार अब अनलाइन कार्यक्रमका रूपमा आयोजना गर्ने निर्णय गरेको छ’ सल्लाहकार बोर्डको तर्फबाट फ्राँस्वाज रोबिन र उल्रिके रोएस्लरले जारी गरेको सूचनामा छ ।
आइएटिएसले अन्तिम समयमा कार्यक्रम रोक्ने घटनाले नेपालमा भविष्यमा अन्तर्राष्ट्रिय शैक्षिक कार्यक्रम आयोजना गर्ने विषयमा प्रश्न उठाउने र नेपाललाई यसबाट आर्थिक तथा प्रतिष्ठामा समेत क्षति हुने दाबी गरेको छ ।
















