१२ साउन, काठमाडौं । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
थापाको संयोजकत्वमा रहेको समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी र जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव छन् ।
यो समितिले घटना छानबिन गरी एकहप्ताभित्र प्रतिवेदन बुझाउने म्याद पाएको छ । समितिले यसखाले घटना दोहोरिन नदिन केके गर्न सकिन्छ भन्नेबारे पनि प्रतिवेदनमा उल्लेख गर्नेछ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । उक्त घटनापछि सुनसरी अशान्त छ । स्थिति नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।
सुनसरीको उक्त घटनापछि गृहमन्त्री सुधन गुरुङले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । उक्त छलफलपछि ५ सदस्यीय समिति गठन भएको हो ।
















