१० साउन, काठमाडौं । मन्त्रिपरिषद्का लगभग सबै बैठकमा प्रधानमन्त्री बालेन शाह गम्भीरतापूर्वक एउटा जिज्ञासा राख्छन्। अझै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज (गनेश) पौडेलसँग त सोझै प्रश्न नै सोध्छन्, ‘जनकपुरमा कहिलेदेखि डोजर चल्छ?’
मन्त्रिपरिषद्का एक सदस्यका अनुसार प्रधानमन्त्री बालेनले दुवैजनालाई दबाब नै दिइरहेका छन् । ‘दुवै मन्त्रीहरू आफूहरू प्रक्रिया अगाडि बढाइसकेको तर कतिपय बस्तीहरू नै पर्ने भएकाले चरणबद्ध रूपमा डोजर चलाउने भन्नुहुन्छ,’ ती सदस्यले भने, ‘तर प्रधानमन्त्रीज्यूका अनुसार सबैतिर एकैपटक लगाउ भन्ने कुरा छ।’
बालेनले जनकपुरको सन्दर्भमा यस्तो चासो देखाउनुको कारण उनले आफैं गएको माघ ५ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)द्वारा आयोजित ‘परिवर्तनको उद्घोष सभा’मा गरेको भाषण हो। उनले भाषणमा आफू जनकपुरधामको अतिक्रमित जग्गा, मठमन्दिर र पोखरीको संरक्षण गर्ने बताएका थिए।
‘काठमाडौंमा हामीले मन्दिर जोगायौं, पाटीपौवा संरक्षण गर्यौं, पोखरी संरक्षण गर्यौं, फल्चा बनायौं। तर जनकपुरमा यहाँका पोखरी, मन्दिर, पाटीपौवा बाटो कुरेर बसेका छन् की कहिले कोही आउँछ र हामीलाई संरक्षण दिन्छ,’ बालेनले भाषणमा भनेका थिए, ‘त्यो कोही भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी हो। यहाँको पोखरीको, यहाँको मन्दिरको र यहाँको भूमिको संरक्षण अब राष्ट्रिय स्वतन्त्र पार्टीले गर्छ। र मलाई तपाईंहरू काम दिनुस् यो गर्नलाई। म काम गरेर देखाउँछु।’
















