ग्यास भण्डार केन्द्र निर्माणमा प्राथमिकताका साथ काम गरौं : सांसद राना

0

३१ असार, काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले एलपी ग्यास भण्डारण क्षमता नहुँदा निजी क्षेत्रले मात्र बजार धान्नुपरेको उल्लेख गर्दै सरकारले यसमा ठोस गृहकार्य गर्नुपर्ने बताबताएका छन् ।

उनले दैलेखको ग्यास खानी उत्खनन परियोजनालाई छिटो अघि बढाउन समेत सरकारसँग आग्रह गरे ।

बुधबार बसेको संघीय संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सांसद रानाले व्यावसायिक र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै रङका सिलिन्डर प्रयोगमा ल्याउनुपर्ने पनि बताए ।

‘सरकारले पुन: १४.२ केजीको पूरा ग्यास सिलिण्डर वितरण गर्ने निर्णय गरेकोमा स्वागत गर्दै धन्यवाद व्यक्त गर्न चाहन्छु । एलपी ग्यासको भण्डारण क्षमता अभावले आपूर्तिमा कस्तो असर परेको छ र यसको दीर्घकालीन समाधानका लागि मन्त्रालयले के तयारी गरिरहेको छ भन्ने विषयमा समितिलाई जानकारी गराइनुपर्छ । साथै, निजी र औद्योगिक प्रयोजनका लागि ग्यास वितरण प्रणालीलाई थप व्यवस्थित बनाउन सरकारले प्रभावकारी नीति ल्याउन आवश्यक छ,’ उनले भने ।

घरायसी प्रयोजनका लागि सहुलियत दिने र व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि छुट्टै मूल्य प्रणाली लागू गर्ने विषयमा अध्ययन हुनुपर्ने उनको भनाइ छ । घरायसी र व्यावसायिक सिलिण्डरलाई फरक रङ वा स्पष्ट पहिचानसहित वितरण गरे अनुगमन र पारदर्शीता दुवै बढ्ने उनले बताए ।

‘दीर्घकालीन रूपमा सरकारी ग्यास भण्डारण केन्द्र निर्माणलाई प्राथमिकता दिनु आवश्यक छ । साथै, दैलेखको ग्यास उत्खनन परियोजनालाई शिघ्र व्यावसायिक चरणमा पुर्‍याउन र मिथेन (बायोग्यास) उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि बढाउन सरकारको विशेष ध्यान जानुपर्छ । यसले आयातमा निर्भरता घटाउने, ऊर्जा सुरक्षालाई मजबुत बनाउने र ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास लिएको छु,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here