चितवन, २०८२ जेष्ठ – चितवन इसाई समुदायले आफ्नो २५औँ वार्षिक उत्सव अर्थात् रजत महोत्सवको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। यही जेष्ठ २९ गते शनिबार, बिहान ८ बजे भरतपुरस्थित नवजीवन ए. जी. चर्चमा विशेष समारोहको आयोजना हुँदैछ।

समुदायको यस ऐतिहासिक अवसरमा विभिन्न संघसंस्थाहरूले शुभकामना प्रकट गरेका छन्। नेपाल रेडक्रस सोसाइटी, चितवन शाखाले सुभकामना पत्र मार्फत चितवन इसाई समुदायलाई विगतदेखि नै मानव सेवामा समर्पित भई आएको भन्दै प्रशंसा व्यक्त गरेको छ। पत्रमा, रजत महोत्सवको अवसरमा प्रकाशित हुने स्मारिकाले समुदायको धार्मिक अभियानलाई अझ उच्च स्थानमा पुर्याओस् भन्ने शुभेच्छा पनि व्यक्त गरिएको छ।
त्यस्तै, चितवन इसाई समाजले नेपाल रेडक्रस सोसाइटी, चितवन शाखालाई पत्र पठाउँदै स्मारिकामा प्रकाशनको लागि शुभकामना सहितको पत्रको अनुरोध गरेका थिए। समाजका अध्यक्ष पास्टर जीवन लामा र सचिव पास्टर ईश्वर कुमार श्रेष्ठले हस्ताक्षर गरेको पत्रमा, कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गरिने जनाइएको छ।

स्मरण रहोस्, चितवन इसाई समुदायले सामाजिक, धार्मिक तथा सेवामूलक कार्यहरू गर्दै आएको छ र यस रजत महोत्सवले समुदायको योगदानलाई स्मरण गर्ने तथा आगामी यात्रालाई अझ प्रभावकारी बनाउने उद्देश्य राखेको छ।