७ फागुन, माछापुच्छ्रे । पदमार्गका लागि आन्तरिक पर्यटकको रोजाइमा पर्दै आएको कास्कीको मर्दी हिमालमा यो वर्षको पहिलो हिमपात भएको छ । हिउँदको अन्तिम समयमा हिउँ परेपछि त्यहाँका पर्यटन व्यवसायी हर्षित भएका छन्।
सोमबारबाट हल्का वर्षा सुरु भएको र मंगलबार हिमपात भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले जानकारी दिए । मर्दी हिमालमा हिमपात भएपछि पदयात्रामा जाने स्वदेशी तथा विदेशी पदयात्रीसमेत उत्साहित भएका छन्। हिउँ परेपछि मर्दीसहित वरिपरिका हिमाल सेताम्मे बनेका छन् ।
पोखरादेखि छोटो समयमै पूरा गर्न सकिने र मर्दी हिमालसहित माछापुर्च्छ्रे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले यो पदमार्ग पछिल्लो समय पदयात्रीको रोजाइमा पर्दै आएको छ ।
पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ्रे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जंगलको बाटो हुँदै उकालो चढेर दुई हजार नौ सय ७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।
माछापुच्छ्रेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाटसमेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेस्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ । ‘मर्दीमा हिउँ पर्न थालेपछि आकर्षण बढ्छ । पोखरादेखि सजिलै पुग्न सकिने भएकाले योबेला पर्यटकले बढी रुचि देखाउँछन्’, वडाध्यक्ष क्षेत्रीले भने ।