२८ फागुन, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पनि नागरिक उन्मुक्ति पार्टीका नेताहरुलाई मन्त्रिपरिषदमा सहभागी गराउँदैछन् ।
नाउपा स्रोतकाअनुसार प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्री नियुक्त गर्ने तयारी छ । नाउपा अध्यक्ष रञ्जिता चौधरी निकट उनले दिउँसो ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयाको शपथ लिने स्रोतको भनाइ छ ।
मुख्यमन्त्री शाहले यसअघि शुक्रबार नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुशीराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गरेका थिए ।
नाउपाबाट रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री छन् । लक्ष्मणकिशोर चौधरी मन्त्री बनेपछि सुदूरपश्चिम सरकारमा नाउपाका मन्त्रीको संख्या ५ पुग्नेछ ।
२१ फागुनमा केन्द्रमा एमाले-माओवादीसहितको गठबन्धन सरकार बनेपछि मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरे भने त्यसको केही दिनमा एकीकृत समाजवादीले पनि सरकार छाडेको छ ।
आफूलाई समर्थन दिएको दुई दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुर्याउन सरकारमै रहेको नागरिक उन्मुक्ति पार्टीलाई थप मन्त्रालय दिएका हुन् ।
मुख्यमन्त्री शाहले स्वतन्त्र प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी र राप्रपाकी खेमादेवी बिष्टलाई पनि मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए तर राप्रपाले केन्द्रको निर्णय पर्खिने बताएपछि स्वतन्त्र सांसद जोशी पनि तत्काल सरकारमा गएका छैनन् । तर जोशी सरकारमा जाने कुरामा सकारात्मक रहेको कांग्रेस नेताहरु बताउँछन् ।
नाउपाका सांसदलाई एकपछि अर्को मन्त्री नियुक्त गरिरहेका शाहले मन्त्रीले फुटाएर भएपनि जोशी र विष्टलाई पनि मन्त्री बनाउने आश्वासन दिएका छन् । दुवै जना सरकारमा आए मात्र शाहलाई बहुमत पुग्छ ।