काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले क्यान्टोनमेण्ट घोटालाको फाइल खोल्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आग्रह गरेका छन्।
आइतवारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले गृहमन्त्री लामिछानेलाई क्यान्टोनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गरेका हुन्। उनले जिबी राईलाई पक्राउ गरेर ल्याउन पनि आग्रह गरे। अझै सरकारको ७ दिन बाँकी रहेको भन्दै उनले यो बीचमा भ्रष्टाचारका फाइल खोलेमा आफूहरूको साथ र समर्थन रहने बताए।
उनले सुकुमवासीलाई खोला किनाराबाट हटाउन काठमाडौँ महानगरपालिकाले पत्र पठाएर गृहमन्त्रीलाई पटक–पटक आग्रह गरे पनि प्रहरी नपठाएको बताए। उनले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताए।
उनले भने, ‘संविधान संशोधन गरौँ‚ परिवर्तन गरौँ। देशको हितमा छ भने संशोधन गरेर अघि बढाऔँ। हितमा छैन भने बुँदा कटौती गरौँ। पुराना दलले ३३ वर्षदेखि देशलाई लुटे। यिनीहरूविरुद्ध सडक र सदनबाट खडा हुनुपर्छ भनेर जनताले हामीलाई जनमत दिएका हुन्। गृहमन्त्रीजी! जिबी राईलाई पक्राउ गरेर ल्याउनुस्। हामी फूलमालाले स्वागत गर्छौं। अझै ७ दिन छ, फाइल खोलौँ। झ्याम कि झ्याम यहीँबाट पक्राउ गरेर जेल हालौँ। हामी समर्थन गर्छौ। गृहमन्त्रीज्यूलाई काम गर्ने कुरामा समर्थन छ, क्यान्टोनमेण्ट घोटालामा कसको नाम छ रोष्ट्रममा आएर बताउनुस्। हामी तपाईंलाई समर्थन गर्छौं।’
प्रमुख सचेतक शाहीले संविधान संशोधन गर्नुपर्ने बताए। उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा जानुपर्ने बताए।