२६ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश खेलकुद बोर्डका सदस्यसचिव पर्शुराम बस्नेतलाई दोस्रोपटक स्पष्टीकरण सोधेका छन् ।
२३ वैशाखमा २४ घण्टे स्पष्टीकरण सोधेका बस्नेतलाई मुख्यमन्त्री कार्कीले २५ गते तपाईंलाई कारबाही किन नगर्ने भन्दै दोस्रो स्पष्टीकरण सोधेका हुन् । दोस्रो स्पष्टीकरण बुझाउने समय भने आज दिउँसो ३ बजेसम्मको मात्रै छ ।
कार्की र बस्नेत मोरङ क्षेत्र नम्बर ६(२) काे प्रदेशसभा निर्वाचनका प्रतिस्पर्धी उम्मेदवार हुन् ।
तत्कालीन मुख्यमन्त्री भीम आचार्यले बस्नेतलाई २४ असोज २०७८ मा खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए । त्यसपछि राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषद्ले २१ चैत २०७८ मा उनलाई पदमुक्त गरेर हंशराज वाग्लेलाई सदस्य सचिव पदमा नियुक्त गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयविरुद्ध बस्नेतले १४ वैशाख २०७९ मा उच्च अदालत विराटनगरमा रिट दिएका थिए । सोही रिटमा दुई वर्षपछि उच्च अदालतले बस्नेत पुनर्बहाली हुने फैसला गरेको थियो ।
मुद्दा अदालतमा चलिरहेका बेला २०७९ मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा बस्नेत एमालेबाट क्षेत्र नम्बर ६ (२) बाट उम्मेदवार बनेका थिए । त्यसबेला उनी मुख्यमन्त्री कार्कीसँग पराजित भए ।
अदालतको आदेशपछि पदबहाली भएका बस्नेतले मुख्यमन्त्रीले स्पष्टीकरण साेधेपछि स्पष्टीकरण बुझाएका थिए ।
२४ घण्टे स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कार्कीले अर्काे स्ष्टीकरण साेधेका हुन् । ‘… तपाईंले प्रदेश खेलकुद विकास बोर्डको सदस्यसचिवमा बसिरहनु उक्त ऐनको बर्खिलाम हुन जाने देखिन्छ । तसर्थ उक्त ऐन अनुसार तपाईंलाई सदस्य सचिव पदबाट किन नहटाउने २०८०/१/२६ गते दिनको ३ बजेभित्र मनासिव सफाइ पेस गर्न हुन जानकारी गराइन्छ अन्यथा नियमानुसार हुने समेत जानकारी गराइन्छ ।’
सदस्यसचिव बस्नेतलाई स्पष्टीकरण सोधेका मुख्यमन्त्री केदार कार्की आफैं अल्पमतमा छन् । २६ चैतमा नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका उनले विश्वासको मत लिने ३० दिनको गुजारेका छन् ।
अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले बस्नेतलाई हटाएर आफ्ना कार्यकर्ता नियुक्त गर्ने तयारीमा छन् ।
