सर्लाही : जिल्लाको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा आज बिहान स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु भएको छ भने उनका छोरा गम्भीर घाइते भएका छन्।
बिहान करिब १०:३० बजेतिर भएको दुर्घटनामा सागरनाथकै मिनबहादुर थापा मगरकी श्रीमती ४० वर्षीया देविमाया थापा मगरको घटनास्थलमै मृत्यु भएको हो। देवीमायाले चलाएको बा५४प ६३०७ नम्वरको स्कुटर घुम्ती बाटोमा अनियन्त्रित भई सडकनजिक राखिएको टायरगाडामा गएर ठोक्किएको प्रहरीले जनाएको छ।
घटनास्थलको प्रकृति मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताए।
दुर्घटनामा मृतक देविमायाका छोरा ११ वर्षीय श्रवण थापा मगर गम्भीर घाइते भएका छन्। घाइते बालकलाई लालबन्दीमा रहेको मोडेल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
इन्स्पेक्टर श्रेष्ठसहितको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।