काठमाडौँ । जनमत पार्टीले इलाम—२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पहिचानवादीहरूको साझा उम्मेदवारका रुपमा थाम्सुहाङलाई अगाडि सारेको बताए । थाम्सुहाङ पछिल्लो समय कोशी प्रदेश नाम खारेजी अभियानमा सक्रिय थिए ।
विगतमा उनी मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीमा पनि आबद्ध थिए । २०७९ साउनमा थाम्सुहाङ नेतृत्वको राष्ट्रिय एकता पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपाबिच एकता भएको थियो । लोसपाले उनलाई तत्कालीन प्रदेश १ को इन्चार्जका साथ कार्यसम्पादन समिति सदस्य बनाएको थियो । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा थाम्सुहाङले मधेस केन्द्रित जनमत पार्टी रोजेका छन् ।
एमाले सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको इलाम–२ मा वैशाख १५ गते निर्वाचन हुँदैछ । एमालेले स्वर्गीय नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ । मिलन लिम्बुले स्वतन्त्र उम्मेदवारी घोषणा गरेर चुनावी प्रचार थालेका छन् । कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतले उम्मेदवार टुंग्याएका छैनन् ।