काठमाडौँ : सांसदहरूले राज्यका महत्त्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेज नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाएर कारबाही गर्न माग गरेका छन्।
शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसदहरूले राज्यको ऐतिहासिक दस्ताबेज तथा अभिलेख नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको मुद्दा चलाउनुपर्ने धारणा राखेका हुन्। सांसदहरूले यस्तो काम गर्नेलाई कडाभन्दा कडा सजाय तथा जरिवाना हुनुपर्ने बताएका छन्।
बैठकमा अभिलेख संरक्षण ऐन,२०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफलको कार्यसूची रहेको थियो। उक्त विधेयकमा संशोधन राख्ने केही सांसदलाई बैठकमा बोलाइएको पनि थियो। सांसदहरूले आफ्नो संशोधन राख्दै यस्तो धारणा राखेका हुन्। बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राज्यका महत्त्वपूर्ण अभिलेख नष्ट गर्नेलाई ३-५ वर्षको सजायले नपुग्ने बताए। उनले विधेयकमा सजायको व्यवस्था कम भएको उल्लेख गर्दै कम सजायको व्यवस्था गरेर विधेयक ल्याउनु आपत्तिजनक भएको बताए।
नेपालले भने, ‘यो ३ वर्ष, ५ वर्ष मात्रै सजाय दिने यो के गर्न खोजेको ? राष्ट्रघाती काम हो नि यो त। महत्त्वपूर्ण अभिलेख हुन्छन्। यति हल्का ढंगले विधेयक तयार गर्ने कुरा आपत्तिजनक छ। राष्ट्रिय अभिलेखालय जहाँ राष्ट्रिय अभिलेखका महत्त्वपूर्ण दस्तावेज हुन्छन्। त्यो कसैले बदमासी गर्यो भने ३ वर्ष, ५ वर्ष, ३ हजार, ५ हजार हुने कुरा आपत्तिजनक हुन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ऐतिहासिक दस्ताबेज नष्ट गर्नेलाई राष्ट्रद्रोह सरहको कारबाही हुनुपर्ने बताइन्। उनले २० वर्ष कैद र धेरै जरिवाना हुनुपर्ने बताइन्। उनले अभिलेखलाई विद्युतीय अभिलेखमा रूपान्तरण गर्नुपर्ने पनि बताइन्। अभिलेखहरूलाई विभिन्न प्रकारका विपत्तिबाट समेत बचाउने गरी सुरक्षित रूपमा राख्नुपर्ने बताइन्।
बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद रघुजी पन्तले राष्ट्रिय महत्वका कागजात नेपाल बाहिर लैजान दिन नहुनेमा जोड दिए। उनले त्यस्ता कागजात नेपाल बाहिर लानुपरे अपरिहार्य कारण खुलाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए।
सांसद पन्तले विधेयकमाथि छलफल हुँदा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने माग गरे। मन्त्रीको अनुपस्थितिमा बैठक सञ्चालन गर्नु नहुने अडान उनले राखेपछि रास्वपा सांसद श्रेष्ठले पनि उनको कुरामा साथ दिएकी थिइन्। तत्पश्चात बैठक अगाडि बढेन र सभापति राजकिशोर यादवले बैठक स्थगित भएको जानकारी गराए।