वीर अस्पताललाई ‘न्याम्स’बाट अलग गर्नु हुँदैन : उपकुलपति बस्नेत

0

काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न नहुने बताएका छन्।

सिंहदरबारमा सोमबार बिहान बसेको कानून, न्याय तथा संसदीय मामिला समितिको बैठकमा उपकुलपति बस्नेतले २०६३ सालमा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आंगिक अस्पताल बनाइएको स्मरण गरे। अहिले संसदमा पेश भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन गरिएकोप्रति आफू असहमत रहेको उनले बताए। 

‘कुनै पनि चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय सञ्चालन हुनका लागि त्यसका आफ्नो अस्पताल हुन अनिवार्य छ। त्यो अस्पतालमा जसरी अन्य विषयको पढाइ, कक्षा कोठामा हुन्छ, त्यसको पढाइ हुने भनेको अस्पतालमा बिरामीको साइडमा बिरामी हेरेर हुने हो’, उनले भने,  ‘त्यो कुरालाई हृदयंगम गरेर नै २०६३ सालमा यो आउँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आंगिक अस्पताल बनाइएको हो।’

बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट वीर छुट्टिँदा नेपालमा एमडीएमएसको सबैभन्दा धेरै विज्ञ निकाल्ने संस्थालाई नै असर पर्ने उनले बताए। ‘अहिलेको यो जुन संसदमा पेश भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, ०६३ को दफा १४ को १ मा संशोधन गरेर वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतष्ठानसँग छुट्याइनुपर्छ, भन्ने पेश भएको बुझिएको छ’, उनले भने, ‘नेपालमा अहिले एमडीएमएसको सबैभन्दा धेरै विज्ञ निकाल्ने नै यो संस्था हो। प्रतिष्ठानले जुन उद्देश्यले स्थापना भएको हो, यसले जुन लेभलको पढाइ गरिरहेको छ, यसमा असर पुग्छ।’

संशोधनमा उल्लेख भएअनुसार दुईलाई छुट्याउने हो भने दक्ष जनशक्ति उत्पादनमा गम्भीर असर पर्ने उपकुलपति बस्नेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here