काठमाडौँ : काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले विपद् सिर्जित संकटबाट बच्न समुदाय स्तरीय संयन्त्रमा महानगरले ध्यान दिएको बताएकी छिन्। आज (मंगलबार) नयाँ सडकस्थित भूगोल पार्कमा भएको २६ औँ भूकम्प स्मृति सभामा उनले यस्तो बताएकी हुन्।
उनले यस्तै विपद्बाट बच्न खुला ठाउँ आवश्यक रहने र यसको संरक्षण पनि महानगरले गर्दै आएको बताइन्।
‘भूकम्प प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीपको प्रयोग हुन सक्छ, हामीले ठूला भूकम्पको कम्पन थेगेका सम्पदा क्षेत्रका संरचनाको परम्परागत निर्माण प्रविधिको अध्ययन र प्रवर्द्धन गर्न सक्छौँ, विद्यालय, अस्पतालजस्ता सामुदायिक क्रियाकलाप सञ्चालन हुने संरचनाको सबलीकरण, खुला ठाउँको संरक्षण, विपद् सिर्जित संकटबाट बच्न समुदाय स्तरीय संयन्त्रमा महानगरले ध्यान दिएको छ’, उनले भनिन्।
विपद्का कार्यक्रममध्ये काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेका पूर्व तयारी,पुनर्निर्माण र पुनर्लाभका कार्यक्रम र यी कार्यक्रम सञ्चालन गर्न अवलम्बन गरिएको समन्वयको पक्षको सिकाइ अन्य पालिकामा प्रवर्धन गर्नुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले बताए।
महानगरको विपद् व्यवस्थापन विभागका प्रमुख गंगाधर गौतमले विगतका भूकम्पले मानव समाज, भौतिक संरचना र सम्पत्ति तथा वातावरणीय सन्तुलनमा पुर्याएको प्रतिकूल असरको लेखाजोखा गरेर विपदका समयमा सकेसम्म सुरक्षित बनाउन, जुझारु उत्थानशील शहरका रुपमा रूपान्तरण गर्न संकल्प चाहिएको बताए।