जाडो बढेपछि चौरमै परीक्षा लिँदै हुम्लाका स्कुल

0

सिमकोट : हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगत वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थीहरु यो शैक्षिक वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।

चिसोले सबैभन्दा बढी विद्यार्थीलाई कठिन बनाएको छ। चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन्।

कक्षा कोठाभित्र चिसो धेरै हुने हुँदा सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थीलाई घाममा राखेर परीक्षा सञ्चालन गरेको प्रधानाध्यापक प्रेमकला बुढाले बताइन्।

प्रधानाध्यापक बुढाले भनिन्, ‘स–साना बालबालिकाले चिसोको समय हिउँदयाममा कक्षा कोठाभित्र बसेर परीक्षा दिन नसक्ने अवस्था आएपछि चौरमै डेस्क, बेन्च राखेर वार्षिक परीक्षा सञ्चालन भइरहेको छ।’

चिसोले कक्षा कोठाभित्र लेख्न नसक्ने भएपछि चौरमै बसेर परीक्षा दिने व्यवस्था गरिएको प्रधानध्यापक बुढाले बताइन्। विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ।

बलभद्र आधारभूत विद्यालय साँतामा १६२ जना विद्यार्थी रहेका छन् भने कक्षा १ देखि ६ सम्म पठनपाठन हुँदै आएको छ। हाल ८ जना शिक्षक विद्यालयमा कार्यरत छन्। वार्षिक परीक्षा सकिएपछि ४५ दिनका लागि विद्यालयमा हिउँदे बिदा हुने उनले बताइन्।

सिमकोट गाउँपालिकाले वडा नं १ देखि ८ सम्मका आधारभूत र माध्यमिक विद्यालयमा आज (मंगलवार) देखि एकसाथ वार्षिक परीक्षा सञ्चालन गरेको छ।

७ वटा गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। जिल्लाका धेरै विद्यालयले खुला चौरको पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेका छन्।

सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा चिसो अझ बढेको छ। जिल्लामा हिमपात नभए पनि हिउँदमा चिसो अत्यधिक हुने गरेको छ भने तापक्रम माइनसमा झरेको छ। हिमपात भयो भने जिल्लाको तापक्रम माइनस १५ डिग्रीसम्म झर्ने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here