विराटनगर : राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ। जसका लागि यतिबेला केन्द्रीय शीर्ष नेताहरु कोशी प्रदेशको राजधानी विराटनगरमा केन्द्रिकृत भएका छन्। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ।
निर्वाचन आयोगले माघ ९ गते रातको १२ बजेदेखि मतदान नसकिँदासम्म मौन अवधि लागू गरेको छ। मौन अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताइएको छ।
आयोगले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा आदानप्रदान गर्न वा गराउन नहुने जनाएको छ।
त्यस्तै, सो अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, भ्रातृसङ्गठन तथाआचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न निषेध गरिएको छ।
तर, नेपाली कांग्रेस, एमाले र राप्रपाले उम्मेदवार र मतदाताहरु बोलाएर भेला गरेका छन्। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोइराला निवास विराटनगरमा उम्मेदवार र मतदाताहरु बोलाएर चियापान कार्यक्रम गरेका छन् ।
यस्तै, नेकपा एमाले र राप्रपाले भेला राखेका छन्। निर्वाचन आचारसंहिता उल्लंघन गर्दै नेकपा एमाले र राप्रपाले उम्मेदवार र मतदाताहरु बोलाएर भेला राखेका हुन्।
नेपाली कांग्रसको चियापानमा राष्ट्रियसभाको उम्मेदवार कृष्णप्रसाद सिटौला, महिला उम्मेदवार चम्पा कार्की देखि प्रदेशको मुख्यमन्त्री केदार कार्की, सांसद प्रतिनिधिसभा सदस्य दिपक खड्का, गगन थापा समेत उपस्थिति रहेको थियो।
यता, नेकपा एमालेका महासचिव शंकर पोखरेलसहितका नेताहरु भेलामा सहभागी रहेको थिए।
जितको दौडमा एमाले
एमाले र राप्रपा गठबन्धन गरेर राष्ट्रिय सभाको निर्वाचनको मैदानमा उत्रिएका छन्। कोशीको अन्य कोटामा राप्रपाका उद्धब पौडेल र महिलामा एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन्।
सत्तारुढ गठबन्धन दल इमान्दार भए विपक्षी दललाई राष्ट्रिय निर्वाचनमा सहजै पराजित बनाउन सक्छन्। किनभने विपक्षी दल भन्दा सत्तारुढ दल करिब ८ सय मतले अगाडि छ। तर, सत्तारुढ गठबन्धनभित्रको असन्तुष्टिलाई टेकेर निर्वाचन जित्ने दौडमा एमाले र राप्रपाका नेताहरु लागिपरेका छन्।
कोशीबाट प्रतिनिधित्व गर्ने एमालेका स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरु विराटनगरको होटल ह्यारिसनमा भइरहेको भेलामा सहभागी छन्।
बिहीबारको चुनावको सन्दर्भलाई लिएर मंगलबारदेखि सबै प्रदेश सांसदलाई विराटनगर केन्द्रित गरेको एमालेले चुनावसम्म विराटनगर नछाड्न निर्देशन दिएको छ।https://www.facebook.com/v2.7/plugins/share_button.php?app_id=193851637695527&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df104b0de6dd54379c%26domain%3Dthahakhabar.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fthahakhabar.com%252Ffc8ce180a2f11f1c5%26relation%3Dparent.parent&container_width=0&href=https%3A%2F%2Fthahakhabar.com%2Fnews%2F195292%2F&layout=box_count&locale=en_US&sdk=joey&size=small