५ पुस, काठमाडौं । नेपाल सुपर लिगमा बिहीबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै छन् ।
यस खेलसँगै प्रतियोगितामा सातौं चरणको खेल समाप्त हुनेछ र प्रतियोगिता आठौं तथा अन्तिम चरणमा प्रवेश गर्नेछ ।
दशरथ रंगशालामा हुने यसै खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।
१. यो खेल यसपल्टको ३२ र समग्रमा ५७ औं खेल हुनेछ ।
२. काठमाडौं र वीरगञ्ज दुवैलाई यो खेल जित्नै पर्ने दबाब रहेको छ । जित बाहेक अर्को विकल्पमा वीरगञ्जको प्ले अफ सम्भावना समाप्त हुनेछ । काठमाडौंले यो खेल नजिते उसमाथि थप दबाब सिर्जना हुनेछ र शीर्ष चारबाट बाहिर नै रहनेछ ।
३. काठमाडौं छ खेलबाट नौ अंकसहित पाँचौं स्थानमा छ । यी छ खेलमा दुई जित, तीन बराबरी र एक हार रहेका छन् । काठमाडौंले स्पोर्टिङ इलामलाई १-० र पोखरा थन्डर्सलाई २–१ ले हराएको थियो । उसले एफसी चितवनसँग १-१, झापा एफसीसँग गोलरहित र धनगढी एफसीसँग १-१ को बराबरी खेलेको थियो । यस्तै काठमाडौंले बुटवल लुम्बिनीविरुद्धको खेल भने २-१ ले गुमाएको थियो ।
४. वीरगञ्ज छ खेलबाट पाँच अंकसहित नवौं तथा अन्तिम स्थानमा छ । यी छ खेलमा एक जित, दुई बराबरी र तीन हार रहेका छन् । वीरगञ्जको एक मात्र जित इलामविरुद्ध १-० रहेको छ । उसले ललितपुरसँग २-२ र झापासँग गोलरहित बराबरी खेलेको थियो । यस्तै वीरगञ्ज धनगढी, चितवन र पोखरासँग समान २–१ ले पराजित रहेको थियो ।
५. वीरगञ्जले यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेको हुनाले यो काठमाडौंसँगको पहिलो भेट हुनेछ ।