त्रिविमा उपकुलपति नियुक्तिको विज्ञापन सच्याउन प्रधानमन्त्रीको निर्देशन

0

काठमाडौँ : प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन निर्देशन दिएका छन्।

शुक्रवार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नो कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले उक्त विज्ञापन सच्चाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोमा शुक्रवार प्रकाशित गरिएको सूचनाले छनोटमा योग्य मान्छेहरू ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएका हुन्।

शुक्रवार छनोट तथा सिफारिश समितिका तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने  सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीनवर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिएका हो।

त्यस्तो प्रावधानले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने र त्यसले मेरिटोक्रेसीमा सिन्डिकेट लगाउनेमा आफ्नो चासो रहेको बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन गरि मन्त्रालयमार्फत समितिलाई निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने गरी फराकिलो मापदण्ड नबनाए विश्वविद्यालय सुधार कठिन भएकाले उच्च शिक्षाको गुणात्मक सुधारका निम्ति गम्भीर हुन पनि शिक्षामन्त्रीलाई निर्देशन दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here