२२ साउन, काठमाडौं । गृह मन्त्रालयले अछाम र जाजरकोटमा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पठाएको छ ।
अछाममा शरद कुमार पोखरेल र जाजरकोटमा सुरेश सुनारलाई प्रजिअ बनाइएको हो । पोखरेल पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मोरङमा र सुनार गृह मन्त्रालयमा कार्यरत थिए ।
अछाममा यसअघि शिवराम न्यौपाने प्रजिअ थिए । उनले स्वास्थ्य समस्याका कारण मन्त्रालयमा सरुवा मागेकाले उनको ठाउँमा मोरङका सहायक प्रजिअ पोखरेललाई पठाइएको गृह मन्त्रालय स्रोतले बतायो । मुगु र दार्चुलाको प्रजिअ भैसकेका पोखरेलसँग काठमाडौं, तनहुँ, धनुषा र मोरङमा सहायक प्रजिअको रुपमा काम गरेको अनुभव छ ।
जाजरकोटमा यसअघि प्रजिअ रहेका सहसचिव रामकुमार महतोको सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएपछि पद रिक्त थियो । साउन ८ गतेसम्म महतो जाजरकोटको प्रजिअ थिए । महतोको मन्त्रालयमा सरुवा भएकाले उनको ठाउँमा सुनारलाई पठाइएको हो ।
सुनारले यसअघि डोल्पा र बझाङमा प्रजिअ तथा मोरङ र बाँकेमा सहायक
प्रजिअका रूपमा काम गरेका थिए ।