महिला संघमा विवाद चुलियो, आफू पक्षीय १२ जिल्ला अध्यक्ष हटाएपछि संस्थापनइतर आक्रोशित

0

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको विवाद चुलिएको छ । महिला संघको अध्यक्ष उषा राउत मिश्रले जिल्ला अध्यक्षहरु मनोनित गरेपछि अर्को पक्षले विरोध गरेको छ । संस्थापनइतर पक्षका १२ जना जिल्ला अध्यक्ष हटापछि विवाद भएको हो ।

संस्थापनइतका २० केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलन गरेर निर्णय सच्याउन चेतावनी दिएका छन् । ३ दिन भित्र निर्णय नसच्याए देशभर समानान्तर समिति बनाउने र २० जना केन्द्रीय सदस्यले सामूहिक राजनीनामा दिने चेतावनी उनीहरुले दिएका छन् ।

संघको विधान विपरीत अध्यक्ष मिश्रले १२ जिल्लाका अध्यक्ष हटाएको प्रति संस्थापनइतरले विरोध गरेका छन् । स्पष्टीकरणको अवसर समेत नदिई जिल्ला अध्यक्ष तोकिनु लोकतान्त्रिक पद्धतिको उपहास भएको विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष मिश्रले सोलुखोम्बुमा छिल्हामु शेर्पा, बारमा सीता मैनाली, पर्सामा विद्या श्रेष्ठ, सिरहामा विमला निरौला, ताप्लेजुङमा मीना गुरुङ, इलाममा निर्मला सञ्जेल, महोत्तरीमा विना तिवारी, रौतहटमा भुवनी गिरी, कास्कीमा कोपिला रानाभाट, झापामा सुशीला ढकाल र हुम्लामा विजया बुढालाई हटाएर नयाँ अध्यक्ष बनाएकी थिइन् ।

अध्यक्ष मिश्रले गरेको निर्णयको विरोधमा सभापति, उपसभापति महामन्त्री, सहमहामन्त्री र पदाधिकारीलाई ध्यानाकर्षण गराइएको विज्ञप्तिमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here