१२ कात्तिक, सिड्नी । नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्।
अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस एरिया कमान्ड’मा कार्यरत भारतीले गत वर्ष सिड्नीको क्रोइडन पार्कमा भएको गोलीकाण्डका क्रममा देखाएको साहसका लागि यो पुरस्कार पाएका हुन्।
सन् २०२५ अक्टोबर ५ तारिखमा भएको उक्त सार्वजनिक गोलीकाण्डमा उनी घटनास्थलमा पुग्ने पहिलो प्रहरी अधिकृतमध्ये एक थिए। आफूमाथि गोली प्रहार भइरहेको अत्यन्तै जोखिमपूर्ण अवस्थामा पनि उनले आफ्ना कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा पठाउनुका साथै घाइते भएका एक सर्वसाधारणको उद्धार गरेका थिए।
पुरस्कार ग्रहण गर्दै भारतीले यो सम्मान आफूले कहिल्यै नचिताएको बताए। सन् २०१५ मा नेपालबाट अस्ट्रेलिया आएका उनले भने, ‘यस रूपमा सम्मानित हुन पाउनु मेरो लागि गर्वको विषय हो, जुन मैले यो देशमा आउँदा कल्पना पनि गरेको थिइनँ।‘














