काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने १ हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत आर्थिक रूपमा विपन्न बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गरिने बताएका हुन्।
‘पैसा नभएर उपचार गर्न नसक्ने एक हजार वटा मेजर अप्रेसन काठमाडौं मेडिकल कलेजको दुवाकोट र विराटनगरको नोबेल मेडिकल कलेजमा निःशुल्क गर्ने घोषणा गर्न चाहन्छौँ,’ शर्माले भने।
उनले आर्थिक रूपमा विपन्न विद्यार्थीका लागि मेडिकल शिक्षामा छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको पनि जानकारी दिए।
त्यस्तै, स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको नाममा रहेको फाउन्डेसनका गतिविधि देशका ७७ वटै जिल्लामा विस्तार गर्नुपर्नेमा उनले जोड दिए। कोइरालाले पार्टी र मुलुकको आर्थिक समृद्धिका लागि खेलेको भूमिकाबारे नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको शर्माको भनाइ थियो।
कार्यक्रममा उनले आफूले गिरिजाप्रसाद कोइरालाको हातबाट नेपाली कांग्रेसको साधारण सदस्यता लिएको स्मरणसमेत गरे।












