२ भदौ, काठमाडौं । स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ ।
बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ ।
घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको कोस्ट गार्ड परिचालन भएको यूके एमटीओले जनाएको छ । घटनाबाट हालसम्म कुनै वातावरणीय क्षति भएको रिपोर्ट प्राप्त नभएको पनि उसले जनाएको छ ।
जहाजको सुरक्षा अधिकारीले स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा जहाजमा अज्ञात प्रोजेक्टाइल प्रहार भएको जानकारी यूके एमटीओलाई दिएका थिए । प्रोजेक्टाइलको प्रकार तथा घटनामा संलग्न पक्षबारे तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।
यूकेएमटीओले होर्मुज स्ट्रेट हुँदै यात्रा गर्ने अन्य जहाजलाई सतर्कता अपनाउन तथा शंकास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन आग्रह गरेको छ ।
यो घटना अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण होर्मुज स्ट्रेटमा समुद्री यातायात अत्यन्तै प्रभावित भइरहेका बेला भएको हो । पछिल्लो समय यस जलमार्गबाट दैनिक जहाज आवतजावत एकल अंकमा झरेको छ । युद्ध सुरु हुनुअघि भने यहाँबाट दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने गरेका थिए ।
विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक जलमार्गमध्ये एक होर्मुज स्ट्रेटमा पछिल्लो घटनाले व्यावसायिक जहाजको सुरक्षालाई लिएर थप चिन्ता बढाएको छ ।















