प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट, के भयो कुराकानी ?

0

१९ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो ।

गोकर्णेश्वरस्थित सैनिक ब्यारेकमा रास्वपा सांसद राजुनाथ पाण्डेले डोजर लगाएर सेनाको ब्यारेकका पर्खाल भत्काउन खोजको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

नेपाली सेनाका क्पाप्टेनले यहाँ ब्यारेक रहेको भन्दै पत्र ल्याएर मात्रै काम अघि बढाउन भनेको भिडियोमा सुनिन्छ । तर पाण्डेले भने डोजर नरोकिने भन्दै डोजर चलान निर्देशन दिएको सुनिन्छ ।

यही घटनापछि प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट हुनुलाई त्यसैको असर रहेको रुपमा पनि अर्थ्याइएको छ । तर यसबारे नेपाली सेनाले भने औपचारिक रुपमा केही बोलेको छैन । सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भने, ‘प्रधानमन्त्री अहिले रक्षामन्त्री पनि हुनु भएकाले यो नियमिति हुने भेटघाट हो ।’

ब्यारेकको पर्खाल भत्काएको विषयमा भने सेनाले सम्बन्धीत निकायसँग के भएको हो भनेर बुझ्ने काम भइरहेको बताएको छ । ‘हाम्रो थोरै पर्खाल भत्किएको छ । के भएको हो भन्नेबारे हामीले बुझ्ने काम गरिरहेका छौं,’ सैनिक स्रोतले भन्यो ।

यता सेनाले भने नियमित ब्रिफिङ रहेको बताएको छ । अहिलेको समसामयिक घटनाक्रम र नियमित भेटघाट भएको सैनिक प्रवक्ता बस्नेतले बताए ।

१० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच विवाद हुँदा झडप भएको थियो । त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

सुुनसरी घटनामै थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । यही घटना अन्य जिल्लामा फैलिएपछि सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

स्थिति नियन्त्रणमा लिन नेपाली सेना पनि मैदानमा खटिएको थियो । यही घटनाक्रमको पछिल्लो स्थितीबारे छलफल भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here