काठमाडौंँ । अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ अभिनयका लागि पाएको पारिश्रमिकबाट साढे ७ लाख रुपैयाँ कर तिरेका छन् । फिल्मका निर्माता रोहित अधिकारीले पारिश्रमिक र करको रसिद सहित यो जानकारी दिएका हुन् ।
फिल्म अभिनयका लागि अनमोलले ५० लाख पारिश्रमिक लिएको र शो बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) ७ लाख ५० हजार रुपैयाँ नेपाल सरकारलाईकर तिरेको रसिदमा देख्न सकिन्छ । गत जेठ १० गतेबाट प्रदर्शनमा आएको फिल्म ‘फर्की फर्की’ मा अनमोलले ५० लाख लिएको चर्चा भएपनि पुष्टि हुने आधार केही सार्वजनिक भएको थिएन ।
त्यसैले अनमोलको पारिश्रमिलाई लिएर बजारमा विभिन्न गसिफ बन्न थालेका थिए । निर्माता अधिकारीले भने रसिद सार्वजनिक गर्दै अनमोलले ५० लाख पारिश्रमिक बुझेको पुष्टि गरेका छन् । ‘फर्कि फर्कि’ सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म हो ।
रोहित अधिकारीले ओम प्रकाश अग्रवालसँगको सहकार्यमा निर्माण गरेको यो फिल्ममा अनमोलको अलवा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय रहेको थियो ।