काठमाडौं : केही दिनदेखि परेको अविरल वर्षासँगै विभिन्न ठाउँमा बाढीपहिरो गइरहेको छ। धनजनको क्षतिसँगै कतै बस्ती नैडुबानमा परेका छन्। पहिरोले खोडपे–बझाङ जयपृथ्वी राजमार्ग,बागलुङ–बेनी–जोमसोम सडक लगायत राजमार्ग पहिरोले अवरुद्ध भएको छ।
काठमाडौं उपत्यकाभित्रको वाग्मती, विष्णुमती, मनहरा, हनुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा पानीकाे बहाब बढेपछि बस्तीतिर छिरेको छ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरोका विभिन्न पूर्व संकेतहरु पाउन सकिन्छ। पहिरो आउन लागेको कसरी थाहा पाउने भन्नेबारेका यस्ता छन् पूर्व संकेत :
– जमिन भुक्क फुल्नु,भासिनु,चिरा पर्नु, धाँजा फाट्नु
– रुख बिजुलीको पोल वा घरका खाँबा ढल्किनु
– घरको भित्ता,पर्खालमा चिरा देखिनु
– घरको झ्याल ढोका बाङ्गिनु र खोल्न गाह्रो हुनु
– जरुवा पानीको मुल सुक्नु वा जमिनभित्रबाट पलाउने पानी धमिलो हुनु
– जमिनमुनि चट्टान फुटेजस्तो कट्कट् आवाज आउनु
– जमिन थर्केको जस्तो हुनु
प्राधिकरणले यी संकेत पाउने बित्तिकै सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ। त्यस्तै,प्राधिकरणले यी संकेत देखिएमा सम्बन्धित वडा र प्रहरीलाई जानकारी दिन पनि आग्रह गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्बाट पीडित नागरिकको उद्धार तथा उनीहरूलाई राहत सामग्री वितरणमा सक्रिय हुन निर्देशन दिएका छन्। उनले आज एक वक्तव्य जारी गर्दै बाढी पहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले अविरल वर्षाका कारण उपत्यकाको नदीमा पानीको सतह बढेकाले सम्भावित जोखिमलाई मध्यनजरगरी खोला किनारमा प्रहरीले गस्ती गरिरहेको बताएका छन्। देशैभर तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी उच्च सतर्कताका साथ प्रभावित क्षेत्रमा परिचालन गरिएको पनि उनको भनाइ छ।