रूसी सेनामा गएका थप एक नेपालीको मृत्यु

0

काठमाडौं : रुस–युक्रेन युद्धमा परी थप एक नेपाली युवाको ज्यान गएको छ।

लमजुङको दूधपोखरी गाउँपालिका–१ का ३० वर्षीय साजन गुरुङको मृत्यु भएको हो। परिवारको कमजोर आर्थिक अवस्थाका कारण विदेश जान लागेको जानकारी गराएका उनी रूसी सेनामा भर्ती भएको र पुस १४ गते मृत्यु भएको खबर मंगलबार आएको माओवादी केन्द्रको भ्रातृ संगठन वाइसिएलका केन्द्रीय सचिव सुनील सुनारले जानकारी दिए।

साजन वाइसिएल दूधपोखरी गाउँपालिकाका अध्यक्ष समेत थिए। साजनका पिता श्रीमान गुरुङका अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि खाडी जाने भन्दै गत भदौ पहिलो हप्ता उडेका थिए। तर साजन रूसी सेनामा भर्ती भएको जानकारी परिवारले असोजमा मात्रै पाएको थियो।

साजन पुस १४ गतेसम्म परिवारको सम्पर्कमै थिए। योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ। दर्जन बढी नेपाली युवाका शव रुस स्थित शवगृहमा राखे पनि सरकारले स्वदेश ल्याउन सकेको छैन।

बरु रूसी सेनामा मृत्यु हुने नेपालीहरूको संख्यामा बढोत्तरी भइरहेको छ। १ सय ३३ परिवारले आफ्ना परिवारका सदस्यहरू त्यहाँ जोखिममा परेको जानकारी परराष्ट्र मन्त्रालयलाई दिएका छन्।

सरकारले आफ्ना नागरिकहरूलाई रूसी सेनाबाट फिर्ता गराउन पहल गरिरहेको बताए पनि सफलता पाएको छैन। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here