कञ्चनपुर : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताएका छन्। कञ्चनपुरको ब्रह्मदेवबाट पहिलोपटक करिडोरको ट्रयाक खुलेपछि स्थलगत अनुगमनका क्रममा डडेल्धुराको जोगबुढासम्म पुगेका प्रमुख सचेतक लेखकले करिडोरलाई समुन्नतिको मार्गका रूपमा लिनुपर्ने बताए।
‘साविक महाकाली अञ्चल जोड्ने यो करिडोर बनेपछि यहाँको जुडीबुटीदेखि, फलफूल र उत्पादन खपत गर्न सहज हुन्छ’, उनले भने, ‘यसलाई त्रिदेशीयसँगै आर्थिक नाकाका रूपमा विकास गर्न सकिन्छ।’ पर्यटकीय विकास एवं विस्तारका लागि पनि करिडोर सम्भावना बोकेको भएकाले कञ्चनपुरको सिद्धनाथ मन्दिरबाट परशुराम नगरपालिकाको धार्मिक पर्यटन क्षेत्र परशुरामधामसित जोडेर विकास गर्नुपर्नेमा प्रमुख सचेतक लेखकले जोड दिए।
करिडोर अनुगमन गर्दै परशुरामधाम पुगेका उनीसहितको टोली धाममा आयोजित मकर मेलामासमेत सहभागी भएको थियो। ‘करिडोरअन्तर्गत रुख कटानको समस्या चारवटै जिल्ला (कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला) मा हल भएर निर्माण अघि बढेको छ। करिडोरको ट्रयाक हुँदै यसपालि डडेल्धुरा आयौँ, अर्को पटक बैतडीसम्म पुग्ने योजना छ’, प्रमुख सचेतक लेखकले भने।
विकासलाई समृद्धि र पर्यटनसित जोड्ने अभियानअन्तर्गत अघि बढेको उल्लेख गर्दै उहाँले भारतको पूर्णागिरि दर्शनका लागि आउने भारतीय भक्तजनलाई ब्रह्मदेव र महेन्द्रनगरको सिद्धनाथ मन्दिरको दर्शनपछि परशुरामधामसम्म पुर्याउने गरी योजना बनाउनुपर्ने बताए।
करिडोर अनुगमनमा सोमबार नेता लेखकसँगै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा, आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट तथा प्रदेशसभा सदस्यहरु प्रकाश रावल, बेलबहादुर राना, ओमप्रकाश भाट र मधुदेवी भारती, भीमदत्त र परशुराम नगरपालिकाका प्रमुखलगायतको सहभागिता थियो।