राजाहरूबाट देशले विकास पाएन : मुख्यमन्त्री पाण्डे

0

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई सय ४० वर्षसम्म शासन गरेका राजाहरूबाट देशले विकास पाउन नसकेको बताएका छन्।

दश वर्षे जनयुद्धका क्रममा तत्कालीन नेकपा (माओवादी) बाट हत्या गरिएका पर्वतका सहिद हरिदत्त तिवारीको स्मृतिमा आयोजित सभामा बोल्दै उनले लामो समयसम्म शासन गरेका राजाहरूबाट अहिलेको रफ्तारमा जस्तो विकास हुन नसकेको तर्क गरे।

सहिद पुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले अहिले पनि फलेवास नगरपालिका–३ शंकरपोखरी  पिउने पानीकै अभावमा छटपटाइरहेको बताउँदै तत्कालीन राजा महेन्द्रलाई आफ्ना बुबाले शंकरपोखरीमा पानीको व्यवस्था मिलाइदिन अनुरोध गरेका कुराहरू सुनाएका थिए।

त्यसपछि आफ्ना भनाइ राख्दै मुख्यमन्त्री पाण्डेले वर्षौँ अगाडि राजा महेन्द्रसामु राखिएको पिउने पानी जस्तो गम्भीर समस्याको समाधान अहिलेसम्म पनि हुन नसकेको भन्दै राजाहरूले गरेको विकासमाथि प्रश्न गरे।

राजाहरूको शासनकालको तुलनामा अहिलेको विकास निकै राम्रो भएको तर आर्थिक सम्पन्नताको बाटो समात्न भने नसक्दा देश आर्थिक रूपमा बलियो हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here