महिला र पुरुषमा ५/५ लाख पुरस्कार रहेको टाइगर कप भलिबल आजबाट

0


पर्वत : 
चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ। तयारी पुरा भएसँगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लब भिड्ने भएको जनाएको छ।

प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लब र केही सहभागी टिमहरूमा विदेशी खेलाडीहरू समेत सम्मिलित भएपछि चौथो टाइगर कप रोचक हुने आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बताए।

खेलकुद विकास र सामाजिक अभियानको क्षेत्रमा विशेष योगदान दिँदै आएको टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ एक गतेदेखि छ गतेसम्म हुने उक्त प्रतियोगिताको खेल तालिका अनुसार उद्घाटन खेलमा गण्डकी र नेपाल आर्मी पक्का भएको हो। देशकै ठुलो धनराशि पुरस्कार भएको उक्त प्रतियोगिताको उद्घाटन खेल दिउँसो साढे एक बजे सुरु हुने छ।

अध्यक्ष शर्माका अनुसार पोखरा रङ्गशाला भलिबल ट्रेनिङ सेन्टरमा करिब १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ भने सहभागी सबै महिला तथा पुरुष टिम पोखरा आइसकेका छन्। खेल तालिका अनुसार हरेक दिन महिला र पुरुषतर्फका २/२ खेल गरी चार खेल हुने छन्।

नेपाल भलिबल सङ्घको स्वीकृतीमा हुने चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारतस्थित हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आइपुगेको छ। महिलातर्फ नै चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लब, गण्डकी प्रदेशसँगै तिन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउँदै छन्।

पुरुषतर्फ श्रीलङ्काको आर्मी टिम पहिलो पटक पोखरा आएको छ। प्रतियोगितामा सहभागी हेल्प नेपाल स्पोर्टस क्लबले समेत तीन जना पाकिस्तानी खेलाडी टिममा समावेश छ। पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ सहित तीन वटा विभागीय टोली नै सहभागी हुँदै छन्।

महिलातर्फ पहिलो दिन माघ एक गते विभागीय टोली एपिएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्ने छ भने दोस्रो खेल त्रिभुवन आर्मी क्लब र चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड क्लबका बीच हुने छ। पुरुषतर्फको पहिलो खेल मध्यान्हमा दुई विभागीय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबका बीच हुनेछ भने सो खेल लगत्तै उद्घाटन खेल सुरु हुने छ।

माघ दुई गते महिलातर्फ गण्डकीले नेपाल पुलिसको सामना गर्नेछ भने दोस्रो खेल महिलातर्फ त्रिभुवन आर्मी क्लब र हरियाणा टिम भारतबीच हुने छ। त्यस्तै पुरुषतर्फको पहिलो लिग खेल श्रीलङ्का आर्मी टिम र एपिएफ क्लब तथा दोस्रो खेल त्रिभुवन आर्मी र हेल्प नेपाल क्लबबीच हुने छ।

माघ तीन गते महिलातर्फ एपिएफ क्लब र गण्डकी प्रदेशका बीच हुने छ भने दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड क्लबले हरियाणा पुलिस क्लबको सामना गर्ने छ। सोही दिन पुरुषतर्फ लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लब र श्रीलङ्का आर्मी टिमबीच तथा दोस्रो खेल हेल्प नेपाल र गण्डकी प्रदेशबीच हुने छ।

माघ चार गते महिला र पुरुष दुबैतर्फ समीफाइनलका खेलहरू सञ्चालन हुनेछन् भने माघ पाँच गते तेस्रो र चौथो हुने टिमको टुङ्गो लाग्ने छ। माघ छ गते महिला र पुरुषतर्फ फाइनल खेल सञ्चालन हुने छ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको छ। प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद पाँच लाख ५५ हजार पाँच सय ५५ र उपविजेता टिमले समान नगद दुई लाख ५५ हजार पाँच  सय ५५ तथा तेस्रो हुने टिमले समान एक लाख २५ हजार पाँच सय ५५ पाउने छन्। प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीहरूलाई जनही नगद २५/२५ हजार र ट्रफी दिइने छ। अन्य विद्यामा उत्कृष्ट हुने खेलाडीहरूलाई एक्सटेपको १५ हजार बराबरको गिफ्ट ह्याम्पर रहने छ।

प्रतियोगिता सम्पन्न गर्न करिब एक करोड १५ लाख भन्दा बढी खर्च हुने आयोजकले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here