विवाह गराइदिन्छु भन्दै बोलाएर महिलाको हत्या, फरार व्यक्ति ६ वर्षपछि पक्राउ

0

काठमाडौं :  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बोक्सिदह डाँडाँमा एक महिलाको हत्या गरी फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरेको छ।

प्रहरीले ०७४ साल पुष ३० गते काठमाडौं महानगरपालिका -१४ बल्खुस्थित भुमेश्वरी मन्दिर पछाडी बोक्सी दह डाँडामा अन्दाजी ५० वर्षकी महिलाको टाउको र मुखमा गहिरो चोट लागेको अवस्थामा मृत फेला पारेको थियो। अनुसन्धान गर्दै जाँदा प्रहरीले मृतक नारायणी तिमल्सिना रहेको पत्ता लगाएको थियो।

सोही अपराधमा संलग्न दुई व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पुस ४ गते पक्राउ गरेको हो। पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका -१४ का ३७ वर्षीय जगत विश्वकर्मा र धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका -३ तल्लोपोखरा बस्ने वर्ष ४६ को शिवराम अधिकारी रहेका छन्। अधिकारी भनि ०७९ साल कार्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय पाई हाल कारागारमै रहेको प्रहरीले जनाएको छ।

अनुसन्धान अधिकृतले बताएअनुसार मृतक अप्सरा भनिने नारायणी तिमल्सिनासँग जगत विकको चिनजान घटना घटेको दिनमा मात्रै भएको थियो।

शिवराम अधिकारीले नारायणी तिमल्सिनालाई भुपु आर्मिसँग विवाह गराइदिन्छु भनि १५-२० हजार रुपैयाँ पैसा र गरगहना लगाई राम्रो भएर आउनु भनि फोन गरी बोलाएका थिए।

माछापोखरी एरियामा ३ जनाको भेट भएपश्चात् २-३ घण्टा खानपिन गरी चक्रपथ चल्ने बसमा चढी, बल्खु झरी ललितपुरको कुसुन्तीमा पुगेर साँझको खाना त्यहीँ खाई बल्खु एरियामा नाम थाहा नभएको खोला किनारामा मन्दिर पछाडी बसेका थिए।

शिवराम अधिकारी र मृतक दुईघण्टा सँगै सुतेका थिए। सोही क्रममा अधिकारी र विकले ढुंगा प्रहार गरी हत्या गरेर मृतकले लगाएका सुनका मुन्द्री र खल्तीमा भएको नगद ६-७ सय रुपैयाँ निकाली गाडी चढी गंगबु बसपार्कको कोपिला गेष्ट हाउसमा गइ बसेका थिए भने अर्कोदिन बिहान पूर्व जाने गाडी चढी फरार रहेका रहेका थिए।

आरोपी नेपाल आउँदैछन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले २०८० साल पुष ४ गते जगत विकलाई पक्राउ गरेको हो।

अनुसन्धानको क्रममा अर्को आरोपी शिवराम अधिकारी ०७९ कार्तिक २९ गते चोरी मुद्दामा ३ वर्ष कैद सजाय भई नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा केन्द्रीय कारागारमा रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here