वर्षे अधिवेशनमा सांसदलाई १५ दिनको मात्रै तलब दिए हुन्छ : महामन्त्री शर्मा

0

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले संसद्को वर्षे अधिवेशनमा सांसदहरूलाई पन्ध्र दिनको मात्रै तलब दिँदा पुग्ने अवस्था देखिएको बताएका छन्।

दिन गुजारेको हिसाबले करिब ६ महिनाको तलब लिए पनि कामको परिणामको हिसाबले १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था देखिएको बताएका हुन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री शर्माले संसद्लाई प्रभावकारी बनाउन आफूले पनि सांसदको रूपमा पर्याप्त काम गर्न नसकेको स्विकारे। उनले संसद्को वर्षे अधिवेशनमा उपलब्धि कम हुनुमा सरकारको अल्छ्याइँ र प्रमुख प्रतिपक्ष एमालेको आवेगले पनि काम गरेको बताए।

उनले उपलब्धिका दृष्टिले संसद्को वर्षे अधिवेशन कमजोर देखिए पनि अनुभव भने प्रशस्त भएको र त्यसले संसद्को आगामी अधिवेशनलाई अझ प्रखर, प्रभावकारी, परिणाममुखी र उपलब्धिमूलक बनाउनुपर्ने आत्मबोध भएको पनि स्पष्ट पारे।

महामन्त्री शर्माले भने, ‘हामी यो संसदीय परिपाटीलाई परिमार्जन गर्ने र अवस्थालाई परिवर्तन गर्ने भन्ने मनोविज्ञानमा छौं। हामीले परिमार्जित सुसंस्कृत व्यवहार प्रस्तुत गरेका छैनौं संसद्‌मा। घटनापिच्छे अवरोध गर्ने, संसद् चल्नै नदिने गर्‍यौँ। कतिपय वेला संसद्‌मा कोरम नपुगेर पनि हामीले संसद् गुजारिदियौँ। त्यो समयमा तिमीले परिणाम देशका सामुन्ने के पस्कियौँ भन्ने कोणबाट तलब दिनुपर्‍यो भने केवल १५ दिनको मात्रै तलब दिँदा पुग्ने खालको अवस्था छ।’

महामन्त्री शर्माले नयाँ भनिएका दलहरूको गतिविधिले पनि संसदीय परिपाटीलाई बलियो बनाउने अवस्था नदेखिएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here