विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ बुँदे घोषणा नै झुटको खेती भएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुरा गर्दै १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले ढाँटेको आरोप लगाएका हुन्।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसीबारे तत्कालीन सरकारले जनतालाई ढाँटेको आरोप उनले लगाए। तर, प्रधानमन्त्री तथा मन्त्रीको नाम भने लिएनन्। एमसिसी संसदबाट पास गर्दा शेरबहादुर देउवा प्रधानमन्त्री थिए।
‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र प्रभाव पारेर पास गराउने गलत बाटो लिनुभयो,’ ओलीले भने, पहिला नै पास गर्दा ठिक हुन्छ र हुँदैन भनेर छलफल गर्नुपर्थ्यो। तर उहाँहरूले केही गर्नुभएन।’
हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे व्याख्यात्मक टिप्पणीलाई सम्झौताको टिप्पणी बनाउने कि नबनाउने भनेर एमसीसीका अधिकारीसँग जानकारी लिइने बताएका थिए। एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा लागि हिजो नेपाल आइपुगेका छन्।
चीनले तपाईंका पालामा ल्याएको चुच्चे नक्सालाई मान्यता दिएन नि? भन्ने पत्रकारको प्रश्नमा ओलीले आफूले राति मात्रै थाहा पाएको र बुझ्न नपाएको बताए।
चीनले नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेर जारी गरेको छ।