काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवाहरुको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवद्र्धन गर्न नीति बनाई रहेको बताएका छन्।
सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन्।
मन्त्री रिजालले सरकारले नवप्रवर्तनकारी विचारहरुलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशीलता प्रवर्द्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए। उनले सरकारले स्टार्टअपका लागि उपयुक्त कानुन तथा नीतिगत सुधार गरी उपयुक्त वातावरण सिर्जना गर्न बताए।
उनले नेपाललाई आगामी २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्री बीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए।
मन्त्री रिजालले स्टार्टअपलाई प्रवद्र्धन गर्न परियोजनामा आधारित कर्जा,अनुदान र वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहयोग गर्ने कोष स्थापना गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याउने बताए। उनले मन्त्रालयले व्यवसाय संवद्र्धन केन्द्र कार्यविधि तयार गरी सरोकारवाला निकायहरुसँग राय सुझावको लागि पठाएको बताए।
उनले स्टार्टअप उद्यमको लागि स्टार्टअप नीति तयारी गरी रहेको पनि बताए। मन्त्री रिजालले सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्टअपका लागि बलियो जग बन्ने अपेक्षा रहेको उल्लेख गरे।