इटलीमा अत्यन्त व्यस्त भएँ, प्लेन चढ्नुअघि पनि फुटबल स्टेडियम अवलोकन गरें : प्रधानमन्त्री प्रचण्ड

0

१२ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीबाट आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भ्रमण सफल भएको बताए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी हुन यही साउन ६ गते त्यसतर्फ गएका थिए ।

सम्मेलनको क्रममा महत्वपूर्ण भेटघाटहरुबाट यो भ्रमण सफल भएको आफूले ठानेको उनले बताए । ‘सम्मेलनमा देखिएको नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वपूर्ण भेटघाटहरुबाट यो भ्रमणलाई मैले एउटा सफल भ्रमणको रुपमा लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘समग्रमा यो भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा, अझ विशेष गरी संयुक्त राष्ट्रसंघीय मञ्चहरुमा नेपालको छबि एक स्वतन्त्र सार्वभौम, संयुक्त राष्ट्रसंघ र समग्र बहुपक्षीयताप्रति प्रतिवद्ध मुलुकको रुपमा अझ बढी मुखरित हुन पुगेको मैले विश्वास लिएको छु ।’

सम्मेलनको क्रममा संयुक्त राष्ट्रसंघका महासचिव, बंगलादेशका प्रधानमन्त्री शेख हसिना लगायतसँग साइडलाइन वार्ता गरेको उनले जानकारी गराए ।

सम्मेलनमा आफू निकै व्यस्त भएको उनले सुनाए । ‘यो सम्मेलनमा म अत्यन्त व्यस्त रहें सम्मेलनको पहिलो दिन त बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म करिब १२ घण्टा एफएओको परिसर भित्र सम्मेलनमा सहभागिता र बैठकहरुमा व्यस्त रहें । केही बचेको समयमा समेत इटालीले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको छु । प्लेनमा चढ्नु भन्दा केही समय अगाडि मात्रै रोमको ओलम्पिक फुटबल स्टेडियमको अवलोकन गरें,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here