३ साउन, काठमाडौं । पार्टी केन्द्रले प्रदेश कार्यसमितिलाई वेवास्ता गरेको भन्दै कांग्रेस केन्द्रीय समितिमा गण्डकीका सभापति शुक्रराज शर्माले गुनासो गरेका छन् ।
केन्द्रीय समितिको बैठकको दोस्रो दिन प्रदेश सभापतिहरुलाई बोल्न दिइएको छ । आमन्त्रित सदस्यका रुपमा प्रदेश सभापतिहरुले धारणा राख्दै छन् । प्रदेश सभापतिबाट पहिलो वक्ता बनेका गण्डकीका सभापति शुक्रराज शर्माले आमन्त्रित सदस्यका रुपमा बोलाइएको प्रति आपत्ति जनाए ।
विधानमा व्यवस्था गरेर बैठकमा उपस्थित हुन पाउने वातावरण मिलाउन नेतृत्वसँग उनले आग्रह गरे । ‘पटक पटक कुरा उठायौं । विधानतः यहाँ उपस्थित हुने व्यवस्था बनाइयोस् । हामीलाई जति कमजोर बनाइयो, त्यति पार्टी कमजोर हुन्छ,’ बैठकमा शर्माले भने ।
केन्द्रीय नेताहरु तल्लो तहको कार्यक्रममा जाँदा प्रदेशलाई बेवास्ता गरिएको शर्माले गुनासो गरे । केन्द्रीय नेतताहरु तल जाँदा प्रदेश सभापतिलाई जानकारी नगराइएको प्रति आपत्ति जनाए ।
‘एकै चोटी जिल्ला र गाउँमा जाने प्रदेशलाई थाहै छैन । संगठनलाई उपेक्षा गरेर परिणाम राम्रो ल्याउन सक्दैनौं,’ शर्माले भने ।