काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेट प्रणालीमा नै सुधार गर्नुपर्ने प्रस्ताव गरेका छन्। बजेट कार्यान्वयनका लागि कानुन निर्माण गरेर मात्रै अघि बढ्ने प्रणालीको विकास गर्न सके मात्रै यसको कार्यान्वयन सुनिश्चित हुने उनको तर्क थियो। आइतबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले बजेट निर्माणमा आफ्नो अधिकार प्रयोग नगरेकै कारण सरकारले सांसदहरूलाई हेप्ने गरेको गुनासोसमेत गरे। पार्लियामेन्ट सिष्टममा सरकारसँग बहुमत हुने भएकाले सरकारले पेलेरै बजेट पारित गराउने र कार्यान्वयनको सुनिश्चित नहुने अवस्था भएकाले त्यसको अन्त्य हुनेगरी अघि बढनुपर्ने उनले बताए। महामन्त्री थापाले भने, ‘बजेट ल्याएपछि सरकारसँग बहुमत छ।
जस्ताको तस्तै पास हुन्छ। डराउनै परेन। बजेट पनि अर्थ मन्त्रालयले लिएर आउँछ। यसको समीक्षा पनि अर्थ मन्त्रालयले लिएर आउँछ। अनि हामीहरुसँग सीमित ज्ञान हुन्छ। सीमित सूचना हुन्छ। यसको आधारमा यहाँ आएर बोल्दाखेरी कुण्ठा पोख्छौं। गाली गर्छौं। तर तथ्य, तथ्यांकले गर्दा समात्नुपर्ने ठाउँमा समात्दैनौं। बजेट निर्माणमा हामी हामी सांसदहरुले व्यापक ढंगले काम गरेको नदेखेको हुनाले नागरिकहरुले हामीसँग मन्दिरमा गजुरको लागि पैसा माग्छन। इनार खन्न पैसा माग्छन्। किनभने संसदमा त हामीले यहाँ टेवल मात्रै ठोकेको देखिरहेका हुन्छन। हुन्छ, हुन्न भनेको मात्रै देखिरहेका हुन्छन। अर्थ मन्त्रालय वा सरकार हामीसँग डराईराखेको देखिरहेको हुँदैन। स्रोत के मा खर्च गर्ने, कसरी खर्च गर्ने ? यावत कानुन बनाउने अधिकार हामीसँग छ। त्यो अधिकारको हामीले प्रयोग गरिरहेका छैनौं।’
महामन्त्री थापाले करको दर फेरहेर गर्नका लागि राजस्व बोर्ड नै गठन गर्न उपयुक्त हुने धारणासमेत राखे।